उतम प्रधान र निरुता सिंहको जोडी करिब १८ बर्ष पछि एउटै फ्रेममा
गायक केशब भाबुकले भावुक गीतको म्युजिक भिडियो यो जुनिमा यस्तै भयो बोलको गीत सार्वजनिक गरेका छन् । रचनाकार बबी सुब्बा लिम्बुको वास्तबिक जीवनमा आधारित रहेर उनैले लेखेको रचनालाई संगितकार हरि लम्सालले संगित भरेका छन् भने गीतलाई एरेन्ज उदयराज पौडेलले गरेका छन् । यो जुनिमा यस्तै भयो म्युजिक भिडियोको सबै भन्दा गहन पक्ष भनेको यस भिडियोमा अभिनय गर्ने कलाकार द्वय उतम प्रधान र निरुता सिंहको जोडीलाई करिब १८ बर्ष पछि एउटै फ्रेममा देख्न सकिन्छ । एक सामन्य सानो परिवारमा भएको परिवारीक घटनामा श्रीमान श्रीमती र कलिलो बालक बिचको गहिरो माया र बिछोडको कहानीलाई निर्देशक, सम्पादक तथा लेखक मिराज अर्यालले बिभिन्न सिम्बोलीक बस्तुहरुको प्रयोग गरि उत्कृष्ट म्युजिक भिडियो बनाएका छन् । आफ्नो मृत्यु नजिकिदै जाँदा भोगेको पीडा र मृत्युपछिका दिनमा आफ्नी श्रीमतीलाई सनत्वना दिदैं पुरुष पक्षबाट लेखिएको गीतमा कार्यलय सहायक उत्तम प्रधान र शिक्षिका निरुता सिंहको बेजोड अभिनयले कथा लाई गहकिलो रुपमा उठाएको देखिन्छ । रचनाकार ववी सुब्बा लिम्बुले आफ्नो श्रीमान रंजित सुब्बा लिम्बु प्रति समर्पित भएर लेखेको यस गीतमा आफुले आफ्नो श्रीमान सँग नायिका निरुता सिंह र उत्तम प्रधानको चलचित्रहरु हेर्ने गरेको र त्यही पुराना आफ्नो श्रीमान सँगका यादहरुलाई ताजा गराउनका लागि पनि नायिका निरुता सिह र नायक उत्तम प्रधानलाई म्युजिक भिडियोमा खेलाईको कुरा बताईएको छ ।
